भाद्र-१७, हेटौंडा । "Aim, Act, Achieve" भन्ने मूल नाराका साथ मकवानपुरको हेटौँडामा नेपाल जेसीज क्षेत्र 'ख' सम्मेलन-२०२६ सुरु हुनेभएको छ।
जेसीआई हेटौँडा लेडीको आतिथ्यतामा भदौ १९ र २० गते दुई दिनसम्म चल्ने यस सम्मेलनमा देशका विभिन्न स्थानबाट ५०० भन्दा बढी युवा प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहने छ।युवाहरूको नेतृत्व, व्यक्तित्व विकास, उद्यशीलता र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस क्षेत्र 'ख' सम्मेलनमा ४२ वटा शाखाहरूका प्रतिनिधि, ११ जिल्ला तथा २० भन्दा बढी स्थानीय तहका जेसीज सदस्यहरू र युवा नेतृत्वको उपस्थिति रहने आयोजकले बताएको छ।गत भदौ १० गते रसुवाको टिमुरेमा भएको दुःखद घटनाप्रति नेपाल जेसीजले गहिरो दुःख व्यक्त गरेको छ। जेसीजले प्रधानमन्त्री राहत कोषमार्फत रु. १० लाख सहयोग प्रदान गरिसकेको जानकारी दिँदै सम्मेलनमा दिवंगत आत्माहरूको सम्मानमा श्रद्धाञ्जली र दीप प्रज्वलन कार्यक्रम समेत राखिएको छ। साथै, भदौ २० गते बिहान ०७:०० बजे शान्ति, सद्भाव र मानवताको सन्देश दिन 'शान्ति पदयात्रा' आयोजना गरिँदै छ।

करिब रु. ४५ लाख देखि रु. ५५ लाखसम्म अनुमानित खर्च रहने यस सम्मेलनले हेटौँडाको आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ। कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र जिम्मेवार ढङ्गले सम्पन्न गर्न आयोजक संस्था पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइएको छ।
युवाहरूमा सकारात्मक सोच, आपसी सहकार्य र सामाजिक सद्भाव बढाउँदै समाजमा रूपान्तरण ल्याउन यो सम्मेलन एउटा ऐतिहासिक कोसेढुङ्गा सावित हुने आयोजकले अपेक्षा गरेको छ।