भाद्र- १८, मकवानपुर । मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीमा आगलागीबाट घरगोठ जलेर पूर्ण रूपमा नष्ट भएका अग्निपीडित परिवारलाई उद्योग वाणिज्य संघ मकवानपुरले राहत सामग्री सहयोग गरेको छ।

बुधवार राति करिब १०:४५ (पौने ११) बजे स्थानीय इन्द्रबहादुर कठायतको इँटा र काठले बनेको, जस्ताको छानो भएको दुई कोठे कच्ची घर तथा सँगै रहेको भान्साकोठा र गोठमा अचानक बिजुली सर्ट भई आगलागी भएको थियो। आगलागीबाट घर, गोठ र भान्साकोठा पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आगलागीबाट मानवीय क्षति नभए पनि करिब २५ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। पीडित इन्द्रबहादुरकी आमा सीतादेवी कठायत एकल महिला हुनुहुन्छ।
घटनाबारे जानकारी पाएपछि उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोद सिंह रानाभाटको नेतृत्वमा संघका पदाधिकारीहरू र मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिनाको उपस्थितिमा पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको हो।

पीडित परिवारलाई तत्काल गुजाराका लागि आवश्यक खाद्यान्न, सिरक, डसना, भाँडाकुँडा तथा अन्य अत्यावश्यक सामग्रीहरू उपलब्ध गराइएको छ। विपद्को घडीमा आवश्यकताअनुसार थप राहत सामग्रीसमेत उपलब्ध गराउने प्रतिबद्धता अध्यक्ष रानाभाटले जनाएका छन्।

