काठमाडौँ ।
जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउन लागेकी हुन् ।
जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ । नेपाल र जापानबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमा पनि सुमधुर छ । हाल जापानमा एक लाख ६३ हजार नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार – व्यवसायको सिलसिलामा रहेका बताइएको छ ।
नेपाल – जापान सम्बन्ध
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध सन् १९५६ सेप्टेम्बर १ मा स्थापना भएको हो । दुई देशबीचको सांस्कृतिक , सामाजिक, धार्मिक र जनस्तरको सम्बन्ध भने एक सय २५ वर्ष पुरानो हो । सन् १८९९ मै जापानका बौद्धभिक्षु इकाइ कावागुची बौद्ध ग्रन्थ र धर्मको अनुसन्धान गर्ने सिलसिलामा नेपाल आएका थिए ।
नेपालबाट सन् १९०२ मा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए । जापान – नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको नौ वर्षपछि सन् १९६५ मा नेपालले टोकियोमा राजदूतावास स्थापना गरेर कूटनीतिक माध्यमबाट आपसी सम्बन्धलाई अझ घनीभूत बनायो । त्यसको तीन वर्षपछि जापानले नेपालमा राजदूतावास खोलेको हो ।