बैशाख- १३, मकवानपुर ।
मकवानपुरको चित्लाङमा जिल्ला स्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाली कांग्रेस थाहा नगरपालिका वडा नम्बर ९ कार्यसमितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथीमा नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ रहेका थिए भने नेपाली कांग्रेस थाहा ९ का उपसभापति बुद्धबहादुर बलामीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
नयाँ वर्ष तथा लोकतन्त्र दिवसको अवसरमा स्वर्गीय शालिकराम मानन्धर र तेजबहादुर केसीको स्मृतिमा भएको प्रथम जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सभापति बानियाँले खेलकुद क्षेत्रको समग्र विकासका लागि स्थानीयदेखि संघीय सरकारले ध्यान दिनुपर्ने बताएका छन् । खेलाडीको क्षमता अभिवृद्धिका साथै उनीहरुको मनोबल बढाउँदै स्थानीयदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उभिनसक्ने बनाउनुपर्ने पनि उनले बताए ।
भलिबल, फुटबललगायतका खेल क्षेत्रको विकासका लागि बागमती प्रदेश सरकारमार्फत पर्याप्त बजेट विनियोजन गर्न पहल गरिने सभापति बानियाँले प्रतिवद्धता जनाएका छन् । वैशाख ८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा जिल्लाभरका ९ वटा टिमको सहभागिता रहेको थियो । हेटौंडाको छहारी युवा समाजले आयोजक कांग्रेस थाहा ९ लाई पराजित गर्दै उपाधि हात पारेको थियो।
छहारी युवा समाजले ७५ हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेता आयोजक टिमले ४५ हजारका साथै तेस्रो हुने सोल्टु युवा क्लवले ३० हजार र सान्त्वना हुने डाँडाबास युवा क्लवले ५ हजार रुपैयाँ प्राप्त गरेको थियो ।