स्वागत र बिदाइको नाममा निजी विद्यालयको 'व्यापार': विद्यार्थीबाट लाखौ असुली, आधा रकम विद्यालयको खल्तीमा
Saptarangilive
282
Share
बैशाख- १५, नेपालगन्ज । निजी विद्यालयहरूले कक्षा ११ र १२ का विद्यार्थीहरूबाट 'स्वागत' (Welcome) र 'बिदाइ' (Farewell) कार्यक्रमको बहानामा मोटो रकम असुल गरिरहेको पाइएको छ। विद्यार्थीहरूबीच भ्रातृत्व बढाउने भनिएका यस्ता कार्यक्रमहरू पछिल्लो समय विद्यालयका लागि नाफा कमाउने 'सिजनल बिजनेश' जस्तै बनेका छन्।
कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गर्न कक्षा १२ का विद्यार्थीसँग र कक्षा १२ लाई बिदाइ गर्न कक्षा ११ का विद्यार्थीसँग प्रतिव्यक्ति २,५०० देखि ३,००० रुपैयाँसम्म शुल्क उठाउने गरेको पाइएको छ। अचम्मको कुरा त के छ भने, यस्तो शुल्कलाई विद्यालयले 'अनिवार्य' गराएका छन्। "म कार्यक्रममा सहभागी हुन्न, पैसा तिर्दिनँ" भन्न पाउने छुट विद्यार्थीलाई छैन। विद्यालयले यसलाई विद्यालयको नियम र अनुशासनसँग जोडेर अनिवार्य असुली गरिरहेका छन्। तथ्याङ्कलाई हेर्ने हो भने यो सामान्य संकलन मात्र नभई ठुलो आर्थिक चलखेल देखिन्छ। उदाहरणका लागि, एक हजार विद्यार्थी भएको विद्यालयले ३,००० का दरले पैसा उठाउँदा एकैपटक ३० लाख रुपैयाँ संकलन हुन्छ।
खाना खर्च, प्रति विद्यार्थी १,००० रुपैयाँ (उच्च स्तरको होटल/क्याटरिङ) राख्दा १० लाख खर्च हुन्छ।
अन्य खर्च, हल भाडा, मञ्च व्यवस्थापन, साउन्ड सिस्टम र कलाकार वा डिजे खर्च गरी बढीमा ५ लाख खर्च हुन्छ।
यसरी हेर्दा एउटै कार्यक्रमबाट विद्यालयले १५ लाख रुपैयाँसम्म बचत गर्ने गरेको देखिन्छ। वर्षमा हुने स्वागत र बिदाइ गरी दुईवटा कार्यक्रमबाट एउटै ठुलो विद्यालयले ३० लाख रुपैयाँभन्दा बढी 'अदृश्य नाफा' गरिरहेको छ।भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क र किताब- युनिफर्मको मारमा परेका अभिभावकहरू यस्ता 'अतिरिक्त' कार्यक्रमका नाममा हुने असुलीबाट थप मर्कामा परेका छन्। "पढाइको शुल्क तिर्नै गाह्रो छ, फेरि एउटा भोजका लागि ३ हजार तिर्नु पर्दा ढाड सेकिन्छ," एक अभिभावकले गुनासो गरे।
शिक्षा नियमावली अनुसार विद्यालयले तोकिएको बाहेक अन्य शीर्षकमा जथाभाबी शुल्क उठाउन पाउँदैनन्। तर, 'विद्यार्थी परिषद्' वा 'काउन्सिल' को नाम अगाडि सारेर विद्यालय प्रशासनले यस्तो रकम उठाइरहेका छन्। स्थानीय तह र शिक्षा इकाईहरूले यस्ता आर्थिक गतिविधिमा निगरानी नराख्दा निजी विद्यालयहरूको मनपरी बढ्दै गएको जन गुनासो रहेको छ।
स्वागत र बिदाइ जस्ता कार्यक्रमहरू रचनात्मक र कम खर्चिलो हुनुपर्नेमा होटल र पार्टी प्यालेसमा तडकभडकका साथ गर्ने संस्कृतिले शिक्षा क्षेत्रलाई 'व्यापारिक केन्द्र' मा परिणत गरिरहेको छ।महँगा होटल, डिजेको कानै फुट्ने आवाज र भड्किलो पहिरनलाई 'स्कुल कल्चर' को नाम दिइएको छ। के विद्यार्थीलाई सिकाउन खोजिएको संस्कार यही हो?एकातिर स्थानीय सरकार शिक्षामा सुधारको नारा लगाउँछ, अर्कोतिर विद्यालयहरूले विद्यार्थीको नाममा यति ठूलो 'इभेन्ट बिजनेस' चलाउँदा पनि प्रशासन मौन छ। के यो मौनताको पछाडि कुनै 'हिस्सा' त छैन?अब सोच्ने पालो अभिभावक र सरोकारवालाको। शिक्षा दिने नाममा भइरहेको यो 'ओपन लुट' कहिलेसम्म सहने?