Screenshot 2026-06-16 230930.jpg

कार्यक्रमअन्तर्गत पत्रकारहरूले मनहरी गाउँपालिकाका नौवटै वडाको स्थलगत अवलोकन गर्दै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थल, विकास निर्माणका आयोजना, सिँचाइ तथा खानेपानी योजना, कृषि क्षेत्र, स्वास्थ्य सेवा तथा स्थानीय जनजीवनसँग सम्बन्धित समस्याबारे प्रत्यक्ष जानकारी लिएका थिए।मनहरी गाउँपालिका–१ बाट सुरु भएको अवलोकन यात्रा विभिन्न वडाहरू हुँदै गाउँपालिकाको निर्माणाधीन सुविधा सम्पन्न प्रशासकीय भवनमा पुगेर सम्पन्न भएको थियो।

Screenshot 2026-06-16 234502.jpg

अवलोकनका क्रममा सञ्चालन भइरहेका विकास आयोजनाका साथै स्थानीय नागरिकले भोगिरहेका समस्या पनि नजिकबाट बुझ्ने अवसर मिलेको थियो।मनहरी गाउँपालिका–१ का वडा अध्यक्ष शिवप्रसाद खनालले आफ्नो वडामा सडक स्तरोन्नति, खानेपानी, कृषि, सामुदायिक भवन तथा अन्य पूर्वाधार निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए।

Screenshot 2026-06-16 231101.jpg

प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न मनहरी गाउँपालिका पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्रका रूपमा परिचित छ। प्राकृतिक रूपमा रहेको मरङ्गे ताल, निर्माणाधीन करिब ६५ फिट अग्लो बुद्धको विशाल प्रतिमा, निर्माणाधीन भ्यू टावर, हरियाली वन क्षेत्र तथा धार्मिक स्थलहरूले मनहरीलाई भविष्यको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने बलियो आधार तयार गरेका छन्।

Screenshot 2026-06-16 233004.jpg

गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार गाउँपालिकाले सडक, पुल, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन पूर्वाधार विकासलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको छ। गाउँपालिकाको आफ्नै सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने कृषकले उत्पादन गरेका कृषि उपज सुरक्षित रूपमा भण्डारण गर्न निर्माणाधीन कोल्ड स्टोरेज (शीत भण्डारण) भवन पनि अन्तिम चरणमा पुगेको छ। उक्त आयोजना सञ्चालनमा आएपछि कृषि उत्पादनको भण्डारण, बजार व्यवस्थापन तथा कृषकको आम्दानी वृद्धि गर्न महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।स्वास्थ्य क्षेत्रतर्फ पनि गाउँपालिकाले उल्लेखनीय प्रगति हासिल गरेको छ। मनहरी अस्पतालमा भौतिक पूर्वाधार विस्तारसँगै सेवा–सुविधा थपिँदै गएका छन्। आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण तथा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएकाले स्थानीयवासीले आफ्नै पालिकाभित्र सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न थालेका छन्।

Screenshot 2026-06-16 234333.jpg

यद्यपि विकास निर्माणका प्रयाससँगै स्थानीयवासीले भोग्दै आएका समस्या भने अझै समाधान हुन सकेका छैनन्। विशेषगरी वन क्षेत्रसँग जोडिएका बस्तीमा हात्ती, बँदेल, बाँदरलगायतका जङ्गली जनावरको आतंकका कारण खेतीबालीमा ठूलो क्षति पुग्ने गरेको स्थानीयको गुनासो छ। मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी र दीर्घकालीन कार्यक्रम आवश्यक रहेको उनीहरूको भनाइ छ।

Screenshot 2026-06-16 232451.jpg

सूचना तथा सञ्चारको क्षेत्रमा पनि मनहरी गाउँपालिकाभित्र सञ्चालित स्थानीय एफएम रेडियोले समाचार, कृषि, शिक्षा, स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रममार्फत समुदायलाई सुसूचित बनाउँदै आएको पाइएको छ।

Screenshot 2026-06-16 234530.jpg

स्थलगत अवलोकनका क्रममा मनहरी गाउँपालिकामा विकास निर्माणका उल्लेखनीय काम भइरहे पनि धार्मिक तथा पर्यटकीय सम्भावनाको प्रभावकारी उपयोगका लागि आवश्यक पूर्वाधार, प्रचारप्रसार र दीर्घकालीन योजनामा अझ बढी ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ। पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई सन्तुलित रूपमा अघि बढाउँदै मानव–वन्यजन्तु द्वन्द्वको प्रभावकारी समाधान गर्न सकिए मनहरी गाउँपालिका बागमती प्रदेशकै नमुना स्थानीय तह बन्न सक्ने बलियो आधार रहेको सहभागीहरूले बताएका छन्।

Screenshot 2026-06-16 234435.jpg

कार्यक्रमको अन्त्यमा नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारीले सहभागी सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई  धन्यवाद दिएका थिए। त्यसैगरी मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पत्रकारहरूको स्थलगत अवलोकनले गाउँपालिकाका विकासका उपलब्धि र चुनौतीलाई आम नागरिकसमक्ष पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै कार्यक्रममा सहभागी सम्पूर्णप्रति धन्यवाद ज्ञापन गरेका थिए।